संक्षिप्त परिचय

नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं. ४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो । हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ ।

भौगोलीक अबस्था
भौगोलिक हिसाबले राप्ती अञ्चल, प्युठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४८ मिनेट ३० सेकेण्ड देखि ८२ डिग्री ५७ मिनेट ३०सेकेण्ड पुर्वी देशान्तर र २८ डिग्री ३ मिनेट ३० सेकेण्ड देखि २८ डिग्री ११ मिनेट उत्तरी अक्षांश सम्म फैलिएर रहेको छ । १२८.९६ व.कि.मी. क्षेत्रफल रहेको यस प्युठान नगरपालिका उत्तरमा नौबहिनि गा.पा. र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपलिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिका रहेका छन ।

सामाजिक, सांस्कृतिक र रिति रिबाज
यस नगरपालिकामा ३८,४४९ जनसंख्या रहेकामा देशको अन्य क्षेत्रमा जस्तै बहुल, जाति धर्म र संस्कृतिको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति ११,९६७ जना (३१.१२%), दोस्रोमा मगर ८,१९० जना (२१.३० % ) र तेस्रोमा पहाडी ब्राम्ह्ण ५,०३५ (१३.१० %) हरुको बसोबास रहेको छ । यो नगरँपालिकामा कामी, दमाई, क्षेत्री, बाहुन, नेवार, सार्की, घर्ती, ठकुरी, कुबर, र कुमालको मिश्रित र जातिगत पृथक बस्तीहरु छन । जातीय तथा धार्मिक सहिष्णुता र सद्भाब यहाँको विशेषता रही आएको छ । यहाँ बोलीने भाषामा नेपालीका साथै मगर, नेवार समुदायमा मातृभाषाको पनि प्रचलन छ । हिन्दु धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा मठ, मन्दिर, शिला, भूमि, वृक्ष र जलमा आराधना र पुजा हुन्छ । पछिल्ला दिनमा बौद्ध प्रतिमूर्ति तथा क्रिष्चियन धर्मको चर्चहरु पनि फाटफुट रुपमा स्थापना हुदैगएका छन । चाडपर्बमा साउने सक्रान्ती नागपञ्चमी, गाईजात्रा, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, हरितालीका तीज, वडादशै, दिपावली, पन्ध्र पुष, माघेसक्रान्ती, चैते दशै, फागुपूर्णिमा, बुद्धजयन्ती यस क्षेत्रमा मनाइने जातीगत र सामुहिक चाडपर्व हुन । ऐतिहासिक धरोहर तथा सम्पदाको रुपमा कालिका मन्दीर, राजुराथान, शिवालय मन्दिर, भित्रीकोट, मरन्ठानाकोट, दाखाकोट, खैराकोट यस क्षेत्रकै प्रसिद्ध मन्दिर तथा ऐतिहासिक क्षेत्रहरु रहेका छन ।

आर्थिक पक्ष
यो नगरपालिकाको प्रमुख पेसा कृषि भएता पनि बिस्तारै युवा बैदेशिक रोजगारमा जाने प्रवृत्ति र उत्पादनको तुलनामा लागत बढ्नाले यो पेशा प्रति आकर्षणको सट्टा बिर्कषण बढ्दै छ । कृषि उत्पादनमा मकै, धान, गहँु, हुन । अन्य बालीमा मास, भटमास, गहत, बोडी, केराउ, आलु, पिडालु, तोरी, उखु र अदुवा हुन । फलफुलमा लेकतर्फ सुन्तला, कमला, अमिलो र बेसीमा केरा, आप, कटहर, मेवा, अम्बा, नासपाती, लिचि आदी हुन । किसानहरुलाई आधुनिक खेती तर्फ आकर्षित गरी उत्पादनमा बृद्धि ल्याई आर्थिक पक्षलाई सबल बनाउन विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न प्रभावकारी कार्यक्रम तथा यथेष्ट बजेटको व्यवस्थापन तथा परिचालन गर्न आवश्यक देखिन्छ ।